दार्जीलिङ, 17 मार्च 2020/ कयेश अंसारी
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएका अध्यक्ष अनित थापाले गोर्खा पहिचानको समस्या शिक्षाबाट समाधान हुने बताउनु भएको छ। आज तिनधारिया उच्च माध्यमिक विद्यालय निर्माणको शिलान्यास गर्दै अध्यक्ष थापाले कोरोना भाइरस प्रकोपका कारण भेलाहरु रद्ध गरिए पनि यो शैक्षिक कार्यक्रम भएकाले यसलाई स्थगित नगरिएको बताउनुभयो। समारोहमा बोल्दै उहाँले प्रशासन र जनताले मिलेर काम गरेमात्रै विकास हुने भन्दै काम भए/ नभएको अनि सार्वजनिक सम्पत्ति निरीक्षण गर्ने जिम्मेवारी पनि जनताकै भएको भन्नुभयो। उहाँले आफुले अन्तिमसम्म विकास कार्य गरिरहने पनि बताउनुभयो। उहाँले तिनधारियाको विकासका लागि यहाँका मानिसहरुमा एकता हुनुपर्ने पनि बताउनुभयो। उहाँले तिनधारियालाई एकतावद्ध, सशक्तिकरण र विकास गर्ने सपना आफ्नो भएको बताउनुभयो।
आफु यहाँ कुनै राजनीतिक एजेण्डाका कारण नआएको भन्दै उहाँले शिक्षामा कहिलै पनि राजनीतिकरण हुन नहुने बताउनुभयो।
आज शिलान्यास गरिएको विद्यालयको पुनर्निर्माण 2 करोड 43 लाखको लागतमा भइरहेको छ। अहिले विद्यालयको मिठाई दारामा सानो भवन रहेको छ । सन 1947 मा स्थापना भएको विद्यालय 2005 मा मिठाई दारामा सरेको थियो।









































