नयाँ दिल्ली, 20 मार्च
निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई अन्तत: आज (शुक्रबार) बिहान साढे 5 बजे दिल्लीस्थित तिहाड जेलमा फाँसी दिएको छ । सामुहिक बलात्कार एंव तथा हत्या मामिलाका दोषीहरु विनय शर्मा, पवन गुप्ता, मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले फांँसीमा झुण्डाएका हुन ।

तिहाड जेल बाहिर ठूलो संख्यामा मानिसहरु पुगेर निर्भयालाई न्याय मिलेको भन्दै नारावाजी गरेका थिए । विभिन्न प्लेकार्ड र भारतको झण्डा बोकेका मानिसहरुले नारावाजी गरेका थिए । जेल बाहिर ठूलो संख्यामा सुरक्षा बल पनि तैनाथ गरिएको थियो ।

यसअघि फाँसीलाई रोक्न दोषीहरुको तर्फबाट अन्तिम समयसम्म ठूलो कानूनी प्रयास भएपनि यस पटक अदालतले कसैको कुरा सुन्न नमानेपछि फाँसी सम्भव भएको हो ।
बिहीबार पनि निर्भया मामिलाका चारै जना दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए ।
निर्भया बलात्कारण काण्ड र हत्याकाण्डका दोषीहरुलाई फाँसीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो ।
दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए ।
दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँसी दिइएको हो । यसअघि पनि उनीहरुले विभिन्न समयमा कानुनी अधिकारको प्रयोग गर्दै अदालतको ढोकामा पुगेका थिए ।
यसअघि राष्ट्रपति रामनाथ कोविन्दकोमा सजाय माफका दया याचिका पठाएको भन्दै अदालतले मार्च २ मा फाँसीमा रोक लगाएको थियो । उनीहरुलाई मार्च ३ मा फाँसी दिइँदै थिइयो तर अदालतले मार्च ५ मा चौथो पटक मृत्युदण्ड दिइने मिति तय गरेको थियो ।
23 वर्षीया निर्भया 16 डिसेम्बर 2012 मा आफ्नो साथीसँग बसमा सवार भएर गईरहेका बेला उनिमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए । ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार भएको थियो । घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो ।

निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो । नयाँदिल्लीको सडकमा राज्य सरकार र केन्द्र सरकारको विरोधमा हजारौं मान्छे सडकमा उत्रिएका थिए । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो ।आफ्नो अन्तिम सास रहेसम्म पनि लडिरहेको भन्दै उनलाई निर्भयाका नामले चिनाउन थालियो । निर्भया मामिलामा भएका प्रदर्शन र आन्दोलन महिला प्रतिरोधी आन्दोलनका रुपमा विश्वमै समेत चिनिएको थियो ।
बलात्कार तथा आक्रमणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो । घटनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो । प्रहरीले राम सिंह आफै झुण्डिएर आत्महत्या गरेको बताएको थिए । ३३ वर्षीय सिंह त्यो बसका ड्राइभरसमेत भएको बताइन्छ । त्यस्तै राम सिंहका भाइसमेत रहेका ३२ वर्षीय मुकेश सिंह, फिटनेस ट्रेनरका रुपमा काम गर्ने २५ वर्षीय विनय शर्मा, बसका सहचालक ३१ वर्षीय अक्षय कुमार र फलफुल पसल गर्ने २५ वर्षीय पवन गुप्तालाई भने शुक्रबार फाँसी दिइएको हो ।









































