नयाँदिल्ली, २० मार्च, २०२०
पछिल्लो समयमा भारतमा पनि कोरोना भाइरस फैलिँदै गएको छ । पछिल्लो पटक कोरोना संक्रमित एकजनाको राजस्थान राज्यमा मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित इटालीका पर्यटक ६९ वर्षीय एन्ड्री कार्लीको शुक्रवार उपचारका क्रममा ज्यान गएको हो । एन्ड्री २९ फेब्रुअरीदेखि जयपुरको सवाई मानसिंह अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिए ।
२ मार्चमा एन्ड्रीको रिपोर्टमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । उपचारका क्रममा डाक्टरले दोस्रो पटक उनको नमुना पठाएका थिए । १५ मार्चमा यसको रिपोर्ट नेगेटिभ आएको थियो। एन्ड्री भारतमा कोरोना संक्रमित पाइएका पहिलो विदेशी थिए । एन्ड्रीमा संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि पत्नीले इटाली दूतावासबाट जयपुरको फोर्टिस अस्पतालमा भर्ना गर्ने अनुमति मागेकी थिइन् । त्यसपछि एन्ड्रीलाई फोर्टिसमा लगिएको थियो । त्यसबेला उनको अवस्था ठिक थिएन । उनी भेन्टिलेटरमा थिए। एन्ड्री इटालीका ती पर्यटक टोलीका सदस्य थिए जसका १६ जनालाई कोरोना भएको थियो। एन्ड्रीपछि उनकी पत्नीलाई पनि कोरोना संक्रमण भएको थियो । तर एन्ड्रीकी पत्नीको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । अहिले उनी स्वस्थ भइसकेको चिकित्सकहरुले बताएका छन् ।
भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ । यसअघि ज्यान गुमाएका ४ जना भारतीय नागरिक थिए । भारतमा कोरोना फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यही आइतवार देशभर ’जनता कर्फ्यू’ घोषणा गरेका छन् । अहिलेसम्म भारतमा २०६ जना कोरोना संक्रमित भेटिएका छन् ।









































