चितवन, 20 मार्च 2020
घोषणा गरेको ७२ घण्टा भित्र चितवनको भरतपुरमा कोरोना विशेष अस्पताल निर्माण गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचार गर्न चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पतालको निर्माण गरिएको हो। भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा कोरोना विशेष प्रकृतिको अस्थायी अस्पताल निर्माण गरिएको हो। कोरोना भाइरसको संक्रमणको आशंका भएका र परीक्षणपछि संक्रमण देखिएका बिरामीहरुलाई उपचार गर्नकालागि गत मंगलबार भरतपुर महानगरपालिका र जिल्लाका सरोकारवालाहरुको बैठकले अस्पताल बनाउने निर्णय गरेको थियो। अस्पतालमा १० बेडको आईसीयु, १० बेडको एचडीयु र ५० बेडको जनरल वार्ड रहने छ।
शुक्रबार सम्म जनरल वार्डको निर्माण सम्पन्न भइसकेको र अवको दुई दिनमा आईसीयु र एचडीयु निर्माणको काम सम्पन्न हुने अस्पताल व्यवस्थापन समितिका संयोजक डा. भोजराज अधिकारीले बताउनुभयो। आईसीयु र एचडीयु निर्माण सम्पन्न नभएपनि अस्पतालले बिरामीलाई उपचार सेवा दिन सक्ने उहाँले बताउनुभयो। शुक्रबार नै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ७० शैयाको उक्त अस्थायी अस्तपालले सेवा आरम्भ गरेको घोषणा गर्नुभयो।









































