सिक्किम, 21 मार्च 2020/ के.एन. शर्मा
आईतबारका लागि जारी गरिएको ‘जनता कर्फ्यू’ पश्चिम सिक्किममा पनि पूर्णरूपमा लागु गरिने त्यहाँका नागरिकहरूले बताएका छन्। भोली बिहान 7 बजेदेखि साँझ 9 बजेसम्म 14 घण्टाका लागि जारी गरिएको ‘जनता कर्फ्यू’ पूर्णरुपमा लागु गरिने पश्चिम सिक्किमका जनताले जनाएका हुन्। बिहिबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मदीले देशवासीहरूलाई सुरक्षित सामाजिक दूरी बनाउन अपील गर्नुभएको थियो। उहाँले देशमा कोरोना भाइरसको प्रकोप रोक्न ‘जनता कर्फ्यू’ जारी गर्नुभएको हो। प्रधानमन्त्री मोदीले कोरोना भाइरस नियन्त्रणमा सहयोग पुऱ्याउनेहरू प्रति आभार व्यक्त गर्न आइतबार साँझ 5 बजे 5 मिनेटको लागि ताली अथवा घण्टी बजाउन अपील पनि गर्नुभएको छ। प्रधानमन्त्रीले कोविड-19 रोकथाम निम्ति ‘जनता कर्फ्यू’-लाई समर्थन गर्ने विभिन्न क्षेत्रका मानिसहरूको प्रसंशा समेत गर्नुभएको छ।
भोलीका लागि निर्धारित ‘जनता कर्फ्यू’-लाई पश्चिम सिक्किमका आम नागरिकहरूले सहर्ष स्वीकार गरेका छन्। विशेष रूपले गेजिङ वाहन चालक संगठन, देन्ताम, सोरेङलगायतका सदस्यहरूले पनि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस विश्वव्यापी संक्रमणलाई रोक्न आम नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। उनिहरूले भोली आम नागरिकलाई घरभित्रै बस्न अपिल गरेका छन्। यसै सन्दर्भमा राज्यका मुख्यमन्त्रीले दिनुभएको जानकारीमुलक संदेश र पश्चिम जिल्लाले जारी गरेको कानूनलाई पनि आम जनताले सहर्ष स्वीकार गर्दै समर्थन जनाएका छन्।
चीनको हुवेई प्रान्तको वुहान शहरबाट विश्वभरी फैलिएको कोरोना भाइरस अहिले महामारीको रूपमा देखिएको छ। कोरोना भाइरसको संक्रमण रोक्नका लागि पश्चिम जिल्लाको उत्तरेस्थित भारत-नेपाल सीमामा एस.एस.बी. जवानहरू तथा पुलिसकर्मीहरू तैनाथ गरिएको छ। यसका अतिरिक्त नेपालबाट चिउवा भञ्ज्याङको बाटो भएर पैदल यात्रा गरी सिक्किम पस्ने नागरिकहरूको आवत-जावत बन्द गरिएको छ। यस मार्ग भएर दैनिक 15/20 जनाको हाराहारीमा यात्रीहरूले आवत-जावत गर्ने गरेका थिए।
भारतमा कोरोना भाइरस देखिएपछि सीमानाकामा समेत सतर्कता अपनाइएको छ। यसका अतिरिक्त पश्चिम जिल्ला कार्यलयबाट जारी गरिएको नियमलाई पूर्णरूपमा पालना गरिने पश्चिम जिल्लाका नागरिकको बताएका छन्।









































