काठमाण्डौँ, 24 मार्च 2020
सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन दिउँसो पनि राजधानी शान्त देखिएको छ। उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सहरहरु बन्द छन्। सडकमा मानिसहरु छैनन्। तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ। प्रहरीले मोटरसाइकल चालकहरुलाई सम्झाएर घर पठाउने गरेको छ। काठमाडौँको न्यूरोड, असनलगायतका बजारहरु पूर्ण रुपमा बन्द छन्। उपत्यकामा तरकारीको आपूर्ति हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजार पनि बन्द छ। सामाजिक सम्पर्क रोकेर भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने विश्व स्वास्थ्य संगठनको सुझाव भएपछि विश्वका अधिकांस मुलुकहरुले लक डाउनको नीति अख्तियार गरेका छन्। त्यसैले नेपाल सरकारले पनि उक्त नीतिलाई अबलम्बन गरेको छ। जसले गर्दा मंगलबार बिहानै देखि सडकहरुमा अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालन भएको देखिन्छ। सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ।
लक डाउन भनेको औषधि उपचार, खाद्य वस्तु खरिद लगायत अत्यावश्यक कामका लागि बाहेक बाहिर ननिस्कन सरकारले गरेको आदेश हो। सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामी फेला परेपछि संक्रमणलाई थप फैलिन नदिनका लागि ‘संक्रामक रोग ऐन 2020’ अनुसार लक डाउनको नीति अख्तियार गरेको हो। सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ। सरकारले मंगलबार बिहान 6 बजेदेखि 18 गते बिहान 6 बजे सम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो।









































