नयाँ दिल्ली, 24 मार्च 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले 21 दिनसम्म लकडाउन गर्ने घोषणा गर्नुभएको छ। मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गर्नुभएको हो।
प्रधानमन्त्री मोदीले देशलाई बचाउनका लागि (आज) मंगलबार राति 12 बजेदेखि सम्पूर्ण देशभर लकडाउन सुरु हुने बताउँदै घर बाहिर निस्कन पूर्ण रुपमा निषेध गरिएको उल्लेख गर्नुभयो।
लकडाउन मंगलबार राती 12 बजेबाट सुरु हुने समेत उहाँले घोषणा गर्नुभयो। मंगलबार राती 12 बजे सुरु भएको लकडाउन 21 दिनसम्म जारी रहनेछ। यसअघि प्रधानमन्त्री मोदीले आइतबार बिहान 7 बजेदेखि बेलुका 9 बजेसम्म जनता कर्फ्यू घोषणा गर्नुभएको थियो। भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडानसमेत स्थगित गरेको छ।
सम्बोधनका क्रममा मोदीले जनता कर्फ्यू सफल बनाउन सहयोग गरेको भन्दै जनतालाई धन्यवाद समेत दिनुभएको थियो। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न राज्यले समेत लकडाउनको घोषणा गरेको बताउदै यसलाई संवेदनशील रूपमा लिन अनुरोध गर्नुभयो।
कोरोना भाइरसबाट संक्रमित व्यक्ति सुरुमा सामान्य देखिने र कुनै पनि लक्षण नदेखाउने भन्दै उहाँले घरमा बस्न आग्रह गर्नुभयो। उहाँले घरबाहिर जानु नै कोरोनालाई घरमा ल्याउने कदम हुने बताउनुभयो।
मोदीले आफूले प्रधानमन्त्रीको नाताले नभएर, परिवारकै सदस्यको नाताले घरभित्र बस्न आग्रह गरेको बताउनुभयो।









































