बुटवल, 26 मार्च 2020
प्रदेश 5 सरकारले रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–19) परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ। भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेश स्तरीय प्रयोगशाला बनाउन थालिएको हो। प्रयोगशाला बनाउन गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवन निश्चित गरी काठमाडौंबाट विशेषज्ञ प्राविधिक बोलाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजेन्द्र गिरीले बताउनुभयो।
रियल टाइम पी.सी.आर. मेसिनलगायत उपकरण जडान गरेपछि एक साता भित्रमा प्रयोगशालामा सञ्चालनमा ल्याउन सकिने गिरीले बताउनुभयो। प्रदेशमा कोभिड–19 को परीक्षणका लागि प्रयोगशाला नहुँदा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्ने बाध्यता छ। देशभरिका नमूना परीक्षण गर्नुपर्दा रिपोर्ट आउन झण्डै एकहप्ता लाग्ने र बिरामीको उपचार प्रभावित भएको छ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना मात्र नभई भविष्यमा अन्य संक्रामक रोगहरुको परीक्षणका लागि पनि प्रयोगशाला आवश्यक भएकाले अन्तर्राष्ट्रिय मापदण्ड र सुविधा सम्पन्न प्रयोगशाला बनाउने लक्ष्य रहेको बताउनुभयो। सरकारले भैरहवाको भीम अस्पतालको एउटा ब्लकलाई कोरोना उपचार केन्द्रको रुपमा स्थापना गर्न लागेको समेत मन्त्री बरालले जानकारी दिनुभयो।
30 शैय्याको ब्लकमा कोभिड–19 ‘पोजिटिभ’ का बिरामीलाई मात्र उपचार गर्ने गरी काम भइरहेको पनि उहाँले बताउनुभयो।









































