नयाँ दिल्ली, 28 मार्च
कोभिड -19 को प्रकोपका कारण गरिएको लक डाउनले प्रभावित विपन्न परिवारलाई दिल्ली नछोड्न आग्रह गर्दै दिल्ली सरकारले 4 लाख मानिसहरुलाई भोजन वितरण गर्न सक्ने भनेको छ । लक डाउनका कारण हजारौं मजदूर वर्ग दिल्ली छोडेर जान लागेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उनिहरुलाई खानाको व्यवस्था भइरहेको भन्दै नजान आग्रह गर्नुभएको छ । उहाँले लकडाउनले समस्या उत्पन्न भए पनि कोरोना भाईरसको संक्रमणलाई रोक्न सक्ने बताउनु भएकोछ । उहाँले पलायनले संक्रमण झन बढ्ने भएकाले आफु भएकै स्थानमा रहन अपील गर्नु भएको हो । दिल्ली सरकारले दैनिक चार लाख मानिसलाई खाना खुवाउन सक्ने भनेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार पत्रकार सम्मेलन गर्दै चार लाख मानिसलाई दैनिक खाना खुवाउने व्यवस्था गरिएको भन्नुभयो ।
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट विपन्न परिवार बढी प्रभावित बनेको भन्दै उहाँले पाँच सय विद्यालय र दुई सय ३८ टहरामा उनीहरुलाई खाना वितरण गरिने जानकारी दिनुभयो ।
प्रशासनले हरेक क्षेत्रमा घुम्दै खाद्य संकट परेकालाई खाद्यान्न वितरण गरिरहेको केजरीवालले बताउनुभयो। उहाँले विपन्नहरुलाई खाद्य वितरणको काम राम्रो स्तरमा नभएको भए पनि दिल्ली सरकार, विभिन्न धार्मिक र सामाजिक संस्थाहरुले खाद्य पदार्थ वितरणको काम गरिरहेको र भोलिदेखि सहज ढंगमा खाना वितरण शुरु गर्ने र सबै स्थानमा खाना पुग्ने बताउनुभयो ।
लक डाउनका कारण खानापिनाको पनि समस्या भएपछि उत्तर प्रदेश र बिहारका हजारौं मजदूरहरु बाल बच्चासहित सामानका झोलाहरु बोकेर हिड्दै जान थालेपछी आनन्द विहारनजिक कौशाम्बी बस अड्डाबाट कयौं बसहरु संचालन गरिएको छ ।









































