नयाँ दिल्ली, 28 मार्च 2020
कोविड-19 का कारण भारतमा गरिएको लकडाउनलाई मध्येनजर गर्दै दिल्लीस्थित नेपाली राजदूतावासले आफु रहेकै स्थानमा सुरक्षित रहन भारतमा रहेका नेपालीहरूलाई पुनः अपील गरको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै दूतावासले आफु र आफ्नो परिवारको रक्षाका लागि धैर्यताका साथ आफु भएकै स्थानमा रहन अपील गरेको हो।
विभिन्न स्थानमा नेपालीहरूलाई घरबाट निकाल्ने, होटलबाट निकाल्ने खबरहरू प्रकाशमा आइरहेका बेला दूतावासले जारी गरेको विज्ञप्तिमा भारत सरकारले कोठा भाडामा बसेका तथा होटलमा रोजगार गर्ने वा बास बसिरहेका कसैलाई पनि यस परिस्थितिमा नलिकाल्न आदेश जारी गरेकाले त्यसको जानकारी राख्नसमेत अनुरोध गरेको छ।

भारत सरकार र नेपाल सरकारले पूरै देशमा लगाएको लकडाउनका कारण आवतजावत गर्न नसकिने भएकाले नेपाल फर्किन नसकिने समेत दूतावासले बताएको छ। दूतावासले सम्बन्धित निकायहरूले कोविड-19 का सम्बन्धमा बेलाबखतमा जारी गरेका परामर्शहरू पालना गर्न अनुरोध पनि गरेको छ। भारत सरकारले दूध, फलफुल, तरकारी, खाद्य पदार्थ र औषधी लगायतका अत्यावश्यक वस्तुहरू बेच्ने पसलहरू खुला राखेको र विभिन्न सरकारी तथा संघ-संस्थाहरूले समस्यामा परेका व्यक्तिहरूलाई विभिन्न स्थानमा खाने व्यवस्था तथा अन्य आवश्यक प्रबन्ध गरेको समेत जानकारी दिएको छ।
दूतावासले नेपालीहरूलाई आफु रहेको ठाँउमा स्थानीय नेपाली समुदायको सम्पर्कमा रहनसमेत भनेको छ। कोविड-19 का बारेमा केही समस्या आएमा भारतका राज्यहरूमा हेल्प लाइनको व्यवस्था गरिएकाले सोको जानकारी राख्न पनि अनुरोध गरेको छ। औषधी उपचारसम्बन्धमा कुनै समस्या आएमा दूतावासको हट लाइन नम्बर 8929601925 मा सम्पर्क गर्न भनेको छ।









































