दार्चुला, 29 मार्च 2020/ हिम शाह
भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय बढि नेपाली अलपत्र परेका छन्। पिथौरागढ, डिडिहाट, मुन्स्यारीलगायतका क्षेत्रमा काम गरी फर्किएका 313 जना नेपाली तीन दिनदेखि अलपत्र परेका हुन्। शुक्रबार राती 10 बजेसम्म सदरमुकाम खलंगास्थित झोलुंगे पूल खुलाएर 225 जनाको उद्धार गरिएपनि राती 12 बजेपछि धारचुला पुगेका नेपालीहरु अलपत्र परेको हाम्रा सूदुरपश्चिम संवाददाता हिम शाहले बताउनुभयो। उहाँका अनुसार अलपत्र परेका नेपालीहरूको उद्धारका लागि कुनै पहल भएको छैन्।
नेपाल भारत दुवैतर्फ लकडाउन गरिएको अवस्थामा नेपाली मजदुरहरु पैदल हिडेर पिथौरगढबाट 3 दिन लगाएर धारचुला पुगेका छन्। भारतका होटलहरुमा समेत बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले जनाएका छन्। मार्मा गाउँपालिका 5 का दिलेन्द्र महताले तीन दिनदेखि खानेकुरा पाउन नसकेको बताउनुभयो। चाउचाउ र विस्कुट समेेत किन्न नपाइएको उहाँले दुखेसो पोख्नुभयो। धारचुलामा अहिले मान्छेहरूको चाप बढेपछि सडक छेउ र महाकाली किनारमा आएर बस्नुपरेको छ। अपिहिमालका 5 का सुनिल धामी आफ्ना ठेकेदार र मेटले समयमै रकम नदिदा आउन ढिलाई भएको बताउनुभयो। काम गरेको रकम पनि आधा दिएको छ, 2 हजार रुपैयाँ दिएर पठाएको हो, उहाँले भन्नुभयो, अहिले धारचुलामा के खाने भन्ने भइरहेको छ। भारतीय प्रहरीले सामाजिक दुरी बनाएर बस भन्छन्, महाकाली बगर क्षेत्रमा महाकाली नदीको पानी खाएर बसेका छौ।
धारचुलामा सबैभन्दा बैतडी जिल्लाका नागरिक रहेका छन्। प्राप्त विवरणअनुसार दार्चुला मार्मा गाउँपालिकाका 38 जना, अपिहिमाल गाउँपालिका 5 जना, शैल्यशिखर नगरपालिका 11 जना रहेका छन्। यस्तै बैतडी जिल्ला पूर्चाैडी नगरपालिका 164 जना, डिलाशैनी गाउँपालिका 62 जना छन् । बझाङ जिल्ला बुङ्गल नगरपालिका 30 जना, र जाजरकोटका 3 जना रहेका छन् । तर उनीहरुलाइ नेपाल भित्र्याउन भने हालसम्म पहलकदमी भएकाे छैन्।
उनिहरुलाइ स्वदेश ल्याउनेकी नल्याउने भन्ने विषयमा अलमल भएको नेपाल पत्रकार महासंघका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो। उनिहरुलाइ नेपाल ल्याउने हो भने दार्चुलामा राम्रो र भरपर्दो क्वारेन्टाइनको सुबिधा नभएको बताउदै उहाँले सुबिधा नहुदा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने जोखिम रहेको भन्नुभयो।
भारतको कुमाउ गढवालबाट काम गरेर फर्केका नेपालीहरूमा संक्रमण नहोला भन्न नसकिने बताउदै समयमै सबै मिलेर रोकथाम गर्नुको बिकल्प नभएको प्रमुख जिल्ला अधिकारी यद्दुनाथ पौडेलले बताउनुभयो।









































