नयाँ दिल्ली, 2 अप्रेल
भारतको कर्नाटक राज्यको बेङ्गलोरमा कोरोना संक्रमित नेपाली युवकको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको छ। बझाङ स्थायी घर भएका 45 वर्षीय युवकको पछिल्लो पाँच दिनदेखि बेङ्गलोरको केसी जनरल अस्पतालमा उपचार चलिरहेको छ। पेशाले अटो चालक उनलाई उनकी श्रीमतीबाट कोरोना भाइरस सरेको थियो। उनकी 35 वर्षीया श्रीमतीलाई भने अहिले कोरोना नेगेटिभ देखिएको छ।
नेशनल लाइभसँग गरेको कुराकानीमा उनले भने, “अहिले स्वास्थ्यमा कुनै समस्या छैन, तर ज्वरो आउने जाने गरिरहेको छ।” औषधी सेवन गरेपछि ज्वरो पनि कम हुन्छ, उनले भने। उनका अनुसार उनलाई पाँच दिनअघी अस्पतालको क्वारेन्टाइनमा राखिएपनि रिपोर्ट आएकै दिन ज्वरो आउन सुरु भएको थियो।
उनका अनुसार केसी जनरल अस्पतालका अलग-अलग वार्डमा पाँच जना कोरोना संक्रमितको उपचार चलिरहेको छ। बेला बेलामा चिकित्सकहरू आएर उनको राम्रैसँग हेरचाह गरिरहेका छन्। उनकी श्रीमतीमा पाइएको कोरोना संक्रमण अहिले निर्मुल भइसकेपछि आफुपनि सन्चो हुने विश्वास लिएका छन्।
बेङ्गलोरको एक परिवारमा घरेलु कामदारका रूपमा काम गर्ने उनकी श्रीमतीलाई सो घरकी एक सदस्यबाट कोरोना सरेको थियो। सो महिला भने गत 12 मार्चमा लण्डलबाट भारत आएकी थिइन्। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसपछि उनको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण गरिएपछि घरमा काम गर्ने ती नेपाली महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो। ती महिलालाई कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका श्रीमान र चार जना छोराछोरीलाई 28 मार्चमा केसी जनरल अस्पतालको आइसोलेशनमा राखेको थियो। त्यसपछि उनीहरूको सबैको स्वास्थ्य परीक्षण गरियो, र दुई दिनपछि आएको रिपोर्टमा उनका श्रीमानमा कोरोनाको संक्रमण पुष्टि भयो भने छोराछोरी रिपोर्ट नेगेटिभ आयो।
यद्यपि उनकी श्रीमतीलाई अहिले कोरोनाको संक्रमण नभएपनि उनलाई भिक्टोरिया अस्पतालमा क्वारेन्टाइनमा राखिएको छ। उनका छोराछोरीहरूलाई भने केसी अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ।









































