दार्जीलिङ, 7 अप्रेल/ शिला पोख्रेल
विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा जनचेतना संघर्ष समितिले दार्जीलिङ जिल्ला अस्पताल (ईडेन) का स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ। कोरोना भाइरसको महामारीको लडाइमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटेर जनतालाई सेवा उपलब्ध गराएकोमा गोरामुमो जनचेतना संघर्ष समितिले अस्पतालमा पुगेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई खादा ओढाएर सम्मान गर्नुको साथै धन्यवाद ज्ञापन गरेको हो। समितिले कोरोना भाइरसको एक मात्र उपचार सामाजिक दूरी भएकाले घर भित्र रहन र यस महामारी बाट बच्न र बचाउन सरकारद्वारा जारी निर्देशनको पालन गर्न अनुरोध गरेको छ।
गोरामुमो जनचेतना संघर्ष समितिकी अध्यक्ष मन्जिला तामाङले लकडाउन कुनै राजनीतिक पार्टीको बन्द साथै कुनै एउटा समुदायको लडाइँ नभएर मानवजातिमाथि आइलागेको महासंकट भएको बताउँदै यसलाई सबै मिलेर परास्त गर्नु पर्ने भन्नुभयो। संसारमा मानवताभन्दा ठूलो अरु केही नभएको भन्दै उहाँले यस महासंकटबाट बच्ने एउटै उपाय सामाजिक दुरी भएकाले घर भित्र बसेर कोरोना भाइरसको प्रकोपलाई परास्त गर्न सकिने बताउनुभयो।
कोरोना भाइरसको प्रकोपलाई रोक्न र उपचार गर्न विश्वभरका स्वस्थ्यकर्मीहरुले निभाएको भुमिकाको सराहना गर्दै उहाँले स्वस्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सम्मान गरिएको बताउनुभयो।
अध्यक्ष तामाङले कोरोना भाइरसको प्रकोपबाट बच्न र बचाउन केन्द्र सरकार, राज्य सरकार, जीटीए, पुलिस प्रशासन, सरकारका विभिन्न कर्मचारीहरु, मिडियाकर्मीहरु, गाउँ समाज साथै संघ-संस्थाहरुले गरेको पहललाई सम्मानयोग्य बताउनुभयो।









































