काठमाण्डौ, 22 अप्रेल
काडमाडौंको पिङ्गलास्थान स्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रत्येक बुधबारको दिन नियमित रुपमा लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो। तर अहिले स्वास्थ्य केन्द्रले सुरक्षाका प्रबन्धहरु मिलाएर नियमित खोपलाई फेरी निरन्तरता दिएको हो। स्वास्थ्य केन्द्रकी जनस्वास्थ्य निरिक्षक रञ्जना कुमारी साहले लकडाउनको समय र कोरोनाको संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस् भन्ने विषयलाई ध्यान दिदै खोप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरिएको र स्वास्थ्य उपकरण सामग्रीहरुको प्रयोगमा समेत सचेतना अपनाइएको बताउनुभयो। आज बुधबार मात्रै 34 जना बालबालिकालाई खोप दिइएको उहाँले बताउनुभयो।
राष्ट्रिय खोप तालिका अनुसार शिशु जन्मने वित्तीकै बीसीजी, 6 हप्ता र 10 हप्तामा डीपीटी, हेपटाइटिस बी–हिब, पोलियो र पीसीभी, 14 हप्तामा डीपीटी, हेपटाइटिस बी–हिब, पोलियो र आइपीभी- को खोप लगाउनु पर्छ। यस्तै बच्चा जन्मेको 9 महिनामा पीसीभी, दादुरा रूबेला, 12 महिनामा जापनिज इन्सेफलाइटीस र 15 महिनामा दादुरा रूबेलाको खोप लगाउनुपर्ने खोप तालिका रहेको छ।









































