काठमाण्डौ, 24 अप्रेल
सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नुभएको हो। मन्त्रिपरिषद्ले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि मन्त्रिपरिषद्को बैठकले दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो। आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत हुनुभएको हो।









































