काठमाण्डौँ, 27 अप्रेल
देशकै एक मात्र निजामति कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा राष्ट्रिय आविश्कार केन्द्रमा निर्माण भएको स्वाब कलेक्सन बुथ राखिएको हो। राष्ट्रिय कर्मचारी संगठन निजामती र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीहरुको सहयोगमा उक्त स्वाब कलेक्नस बुथ राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिर्घराज आर.सी.-ले बताउनुभयो। उहाँले कोरोना भाइरसको आशंका लागेका विरामीहरुको स्वाब कलेक्सनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब कलेक्नसन गर्दा चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने बताउनुभयो। त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीई लगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताउनुभयो। स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरुलाई पनि राम्रो सेवा दिन सक्ने उहाँले बताउनुभयो।
स्वाब कलेक्सन बुथ उपलब्ध गराउँदै सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग पुऱ्याउने बताउनुभयो। यस्तै राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरि रावलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने बताउनुभयो। राष्ट्रिय आविस्कार केन्द्रले स्वाब कलेक्सन बुथ पूर्ण रुपमा बैज्ञानिक र सुरक्षित रुपमा निर्माण गरिएको जनाएको छ। बुथमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेको र बुथ भित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको केन्द्रले बताएको छ।









































