काठमाण्डौँ, 27 अप्रेल
कोरोना भाइरस (कोभिड-19) को आशंकामा पछिल्लो 24 घण्टामा 2 हजार 1 सय 84 जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन। नेपालमा हालसम्म 53 हजार 5 सय 34 जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 10 हजार 4 सय 71 जनाको पीसीआर र 43 हजार 63 जनाको आरडीटी विधिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो।
प्रदेश नम्बर 1 मा 4 हजार 5 सय 45, प्रदेश 2 मा 5 हजार 2 सय 8, बागमतिमा 7 हजार 6 सय 26, गण्डकीमा 4 हजार 9 सय 24, प्रदेश 5 मा 3 हजार 4 सय 71, कर्णालीमा 5 हजार 1 सय 28 र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 11 हजार 9 सय 61 जनाको आरडीटीबाट कोरोना परीक्षण भएको छ।
कुल संक्रमित 52 जनामध्ये अहिलेसम्म 16 जना उपचारपछि डिस्जार्च भइरहेका छन्। धनगढीमा 1, विरगञ्जमा 3, भरतपुरमा 1 र विराटनगरमा 31 जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यकाभित्र 8 र बाहिर 98 गरी कुल 1 सय 6 जना आईसोलेसनमा छन्, भने 20 हजार 1 सय 95 जनालाई क्वारेन्टिनमा राखिएको मन्त्रालयले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आजदेखि पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएको छ। यो सँगै पीसीआरबाट कोरोनाको परीक्षण हुनेको संख्या 16 पुगेको छ।









































