नयाँ दिल्ली, 27 अप्रेल
विश्वभरी संत्रास फैलाएको कोरोना भाइरस (कोभिड-19) बाट संक्रमितहरुको उपचारका लागि संसारभरीका चिकित्सक र वैज्ञानिकहरु लागि परेका छन्। हालसम्म खोप र औषधि बन्न नसकेका कारण विभिन्न माध्यम र उपायबाट कोरोना संक्रमितको उपचार चलिरहेको छ। विभिन्न उपायमध्ये प्लाज्मा थेरापी पनि सफल देखिएको छ।
यस माध्यमबाट उपचार गरिएका भारतको नयाँ दिल्लीमा एक संक्रमित निको भएर घर फर्किएसँगै चिकित्सकहरु उत्साहित भएका छन्। प्लाज्मा थेरापी प्रविधिमा उनीहरु आशावादी बनेको जनाइएको छ।
कोरोना पोजेटिभ देखिएका दिल्लीका एक जना 49 वर्षीय युवक म्याक्स अस्पतालमा भर्ना भएका थिए। अप्रेल 4 मा कोरोना पोजेटिभ देखिएका ती संक्रमितको अवस्था नाजुक थियो। निमोनियाबाट ग्रस्त उनलाई श्वासप्रश्वासमा समस्या भएपछि 8 अप्रेलमा भेन्टिलेटरमा राखिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि पारिवारिक सल्लाह अनुसार चिकित्सकहरूले प्लाज्मा थेरापीको माध्यमबाट उनको उपचार गरेका थिए। त्यसपछि 14 अप्रेलमा ती बिरामीलाई प्लाज्मा दिइएको थियो। त्यसपछि ती युवक ठीक भएका छन्।
भारतमा कोरोनाविरुद्ध प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गरिएको यो पहिलो घटना हो।









































