नयाँ दिल्ली, 27 अप्रेल
भारतमा दोस्रो पटक गरिएको लकडाउनको अवधि सकिन पनि केही दिन बाँकी रहेका बेला आज देशका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाईरस महामारीका विषयमा सबै राज्यका मुख्यमन्त्रीहरुसित समीक्षा गर्नुभएको छ । भिडीयो कन्फ्रेन्सिङका माध्यमले गरिएको यस बैठकमा पीएम मोदीले लकडाउन खोल्ने विषयमा छलफल गर्दै यसका लागि एक नीति तयार गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा लकडाउनलाई कसरी खोल्दा ठीक हुन्छ भन्ने विषयमा राज्य सरकारले आफ्नो नीति तयार गर्नुपर्ने भन्नुभएको हो ।

बैठकमा कयौं राज्यले लकडाउनलाई थप गर्ने र चरणवद्ध रुपमा लकडाउन हटाउने प्रस्ताव राखेका छन । राज्यलाई रेड, ग्रीन र ओरेन्ज क्षेत्रमा विभाजन गरि कोरोनाको संक्रमण धेरै भएका राज्यमा लकडाउन कायम राख्ने र कम संक्रमण भएका ठाँउमा छूट दिन सकिने सुझाव बैठकमा दिइएको छ । बैठकमा प्रधानमन्त्री मोदीले अर्थव्यवस्थाको विषयमा चिन्ता नलिन भन्दै अर्थव्यवस्था राम्रो भएको बताउनुभएको छ । कोरोना भाईरस संकटका कारण भारतमा 3 मे सम्म लकडाउन गरिएको छ । यसै क्रममा आगामी रणनीतिका लागि प्रधानमन्त्री मोदीले कयौं राज्यका मुख्यमन्त्रीहरुसँग बैठक गर्नुभएको हो । लगभग तीन घण्टा सम्म चलेको बैठकमा मोदीले राज्य सरकारहरुले राम्रो काम गरेको र लकडाउनले भारतलाई कम क्षति भएको बताउनुभयो ।









































