काठमाण्डौँ, 28 अप्रेल
कोरोना भाइरस (कोभिड-19) रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अत्यावश्यक वस्तु एवम् कृषि उत्पादनको ढुवानी सहज बनाउने बताउँदै आएको छ। तर किसानहरु भने आफ्नो उत्पादन विक्री नभएर समस्यामा परेका छन्। एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन् भने, अर्कोतर्फ ढुवानी नहुँदा किसानहरुले लाखौँको नोक्सानी ब्यहोर्नुपरेको छ। कोरोना भाइरस (कोभिड-19) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको 1 महिनाभन्दा बढी भइसकेको छ। देशभर जारी लकडाउनको कारण सवारी आवागमन ठप्प छ। सरकारले खाद्य वस्तु एवम् अत्यावश्यक वस्तुको ढुवानीमा कुनै रोक नलगाएको बताउँदै आएको छ। तर किसानले भने आफ्नो उत्पादन बजारसम्म पुऱ्याउन नपाएको गुनासो गरेका छन्। किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिएर गएको छ। चितवनको खैरहनी नगरपालिका वडा नम्बर 2 का धनश्याम दासले 22 बिगाह जमिनमा तरकारी खेति गर्नुभएको छ। लकडाउनको कारण तरकारी विक्री नभएको भन्दै व्यापारीले तरकारी नलैजाँदा उहाँले गरेको उत्पादन बारीमै कुहिएको छ। तीन बिगाह क्षेत्रफलमा लगाएको पाटे घिरौंला प्रसस्त उत्पादन भएको छ, तर विक्री नभएपछि सुकेर गएको छ। कुनै बेला एक सय रुपैयाँ प्रति किलो विक्री हुने पाटे घिरौंला अहिले सस्तोमा दिंदा समेत विक्री नभएको गुनासो उहाँको छ।

यस्तै 10 बिगाह क्षेत्रफलमा लगाएको गोलभेडा र तीन विगाहमा लगाएको लौका सहित अन्य तरकारी पनि विक्री नहुँदा कुहिएर गएको दासको भनाई छ। उहाँले लकडाउन भएयता 5 ट्रक गोलभेडा कुहिएर नष्ट भएको र अझै 10 ट्रक कुहिने अवस्थामा पुगेको बताउनुभयो। उहाँले अहिले गोलभेडा 10 रुपैयाँ प्रति किलोमा विक्री गर्न खोज्दा समेत विक्री नभएको बताउनुभयो।

लकडाउन हुनभन्दा पहिले नारायणगढ, पोखरा, काठमाडौंको बजारबाट अत्याधिक माग हुने गरेको र मूल्य समेत राम्रो पाउने गरेकोमा अहिले विक्री नभएर समस्यामा परेको कृषक दासले बताउनुभयो। उहाँले तरकारी विक्री नभएपछि कामदारलाई तलब खुवाउन र बैंकको किस्ता तिर्न समेत समस्या भएको बताउनुभयो। यसअघि तरकारी उत्पादनबाटै लाखौं आम्दानी गर्दै आएकोमा अहिले कामदारलाई तलब खुवाउन समेत ऋण खोज्नुपरेको छ। लकडाउनका कारण यो सिजनमा मात्रै 2 करोड रुपैयाँ सम्म नोक्सानी हुने गुनासो उहाँले गर्नुभयो।









































