काठमाण्डौँ, 28 अप्रेल
नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा आपूर्तिको क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न उद्योग मन्त्रालयलाई 24 बुँदे सुझाव दिएको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थालाई सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई 24 बुँदे सुझावपत्र बुझाउनुभएको हो। चेम्बरले उद्योग क्षेत्रका लागि सरकारबाट विशेष राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, कोरोना प्रभावित क्षेत्रलाई कर, जरिवाना तथा ब्याजमा विशेष छुट दिनुपर्ने, औद्योगिक लागत कम गर्न विद्युत महसुल र करमा पुनरावलोकन गर्नुपर्ने माग गरेको छ।
यस्तै, निजी क्षेत्रका लागि ल्याइने राहत प्याकेज ‘जीडीपी’-को 5 प्रतिशत कम हुन नहुने, अति प्रभावित क्षेत्रका सबै स्तरका उद्योगलाई तत्काल अल्पकालीन राहत प्याकेज ल्याउनुपर्ने, अनिवार्य नगद मौज्दात (सीसीडी रेसियो) खुकुलो बनाई लगानी योग्य पुँजी प्रवाह बढाउनुपर्ने माग चेम्बरले गरेको छ। चेम्बरले सरकारको ढुकुटीमा रहेको र वर्षेनी खर्च हुन नसकेको पुँजीलाई निजी क्षेत्रमार्फत् आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा लगानीका लागि नीतिगत व्यवस्था गर्ने तथा साना अनि मझौला उद्योगलाई अधिकतम् सुविधा उपलब्ध गराइनुपर्ने माग गरेको छ।
यस्तै, सरकारले अत्यावश्यकीय वस्तुको आयात व्यापारमा खुकुलो नीति अवलम्बन गरी बिलासी र अनुत्पादक वस्तुको आयात घटाउँदै लैजानुपर्ने चेम्बरको माग छ। उपभोक्तालाई राहत दिन भन्सार दर घटाइनुपर्ने, विश्व व्यापार संगठन, ‘बिम्स्टेक’, ‘साफ्टा’ आदिमा गरिएका प्रतिबद्धता अनुसार भन्सार दरबन्दी घटाउने व्यवस्था गर्नुपर्ने माग चेम्बरले गरेको छ।
यस्तै, सार्वजानिक वितरण प्रणाली व्यवस्थित बनाई न्यून आय भएका व्यक्तिहरुलाई रासन कार्डमार्फत् उपभोग्य वस्तु उपलब्ध गराउन चेम्बरले सरकारलाई सुझाएको छ।









































