काठमाण्डौँ, 28 अप्रेल
मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 54 पुगेको छ। रौतहटका 24 र 35 वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 54 पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको बताउनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गरिएको थियो। नेपालमा संक्रमण देखिएका व्यक्तिहरु अधिकांश भारतलगायत अन्य मुलुकबाट आएकाहरु छन्। अहिले कोशी अस्पतालमा सबैभन्दा बढी 31 जनाको उपचार भइरहेको छ। नारायणी अस्पतालमा 3, चितवनमा 3 र सेती प्रादेशिक अस्पतालमा 1 जना संक्रमित उपचाररत रहेका छन्। अहिलेसम्म 16 जना उपचारपछि निको भएर घर फर्किएका छन्।
अहिलेसम्म 54 हजार 8 सय 26 परीक्षण भएका छन्। जसमा पीसीआर विधिबाट 10 हजार 8 सय 7 र आरडीटीबाट 44 हजा 19 वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो। पछिल्लो 24 घण्टामा 1 हजार 1 सय 93 वटा नमुना परीक्षण भएका छन्।
प्रदेश नम्बर 1 मा 4 हजार 8 सय 28, प्रदेश नम्बर 2 मा 5 हजार 2 सय 49 र बागमती प्रदेशमा 8 हजार 4 वटा आरडीटी परीक्षण भएका छन्। यसैगरी गण्डकी प्रदेशमा 4 हजार 9 सय 36, प्रदेश नम्बर 5 मा 5 हजार 3 सय 28, कर्णाली प्रदेशमा 5 हजार 1 सय 81 र सुदूरपश्चिम प्रदेशमा 12 हजार 2 सय 83 वटा आरडीटी परीक्षण भएका छन्।
देशभरी अहिले 22 हजार 99 जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश नम्बर 5 मा सबैभन्दा बढी 12 हजार 1 सय 64 जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश नम्बर 1 मा 2 हजार 2 सय 88, प्रदेश नम्बर 2 मा 1 हजार 5 सय 12, बागमती प्रदेशमा 3 सय 61 र गण्डकी प्रदेशमा 6 सय 76 जना क्वारेन्टाइनमा रहेका छन्। यसैगरी कर्णाली प्रदेशमा 1 हजार 3 सय 9 र सुदूरपश्चिम प्रदेशमा 1 हजार 3 सय 9 जना क्वारेन्टाइनमा रहेका छन्। काठमाडौं उपत्यकामा 4 र बाहिर 1 सय 3 गरी 1 सय 7 जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो।









































