काठमाण्डौँ, 30 अप्रेल
सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको भन्दै उहाँहरुविरुद्ध उजुरी दिनुभएको हो। बिहीबार आयोगको कार्यालय पुगेर यादवले उजुरी दिनुभएको हो। उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए/नभएको विषयमा अनुसन्धान गरिने बताउनुभयो। अपराध भए/नभएको, अपहरण भए/नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानवअधिकार भएको छ की छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताउनुभयो। उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उलंघन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘अपराध भयो/भएन्, अपहरण हो/होइन त्यो हेर्ने काम हाम्रो होइन्। त्यो प्रहरी र अदालतको काम हो। तर उजुरीमा लेखिए बमोजिमको कार्यहरु भएकी/भएनन्। ती कार्यहरु भएको भए उजुरीकर्ता मानव अधिकार उलंघन भयो कि/भएन्। उलंघन भएको रहेछ भने त्यसलाई पुर्नस्थापना गर्न के गर्नुपर्छ। राज्यले के गर्नुपर्छ। सरकारले के गर्नुपर्छ भन्ने कुरा हामी बोल्नुपर्छ। त्यो बोल्ने हाम्रो कर्तव्य हो। हामी आफ्नो कर्तव्यप्रति सजग छौँ।’’

डा. यादवले सदस्य वस्ती र माहना अन्सारीलाई भेटेर उजुरी दिनुभएको हो। शक्तिको आडमा आफ्नो ज्यान नै लिन सक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीपीलाई पक्राउ गरी आवश्यक छानबिन र कारवाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ। काठमाडौंमाबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई बैशाख 10 गते काठमाडौँ ल्याउनुभएको थियो। यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरेका थिए।









































