काठमाण्डौँ, 3 मे 2020
काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा आएको छ। काठमाडौँ भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो। सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो। नागढुंगामा सुन्दर यातायातको सहयोगमा निर्माण भएको हो। उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो। प्रजिअ दाहालले यात्रुहरुलाई उपत्यका प्रवेश निषेध गरिएको उहाँले बताउनुभयो। मालबाहक सवारीबाट सुरक्षा जोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउने गरिएको प्रजिअ दाहालले बताउनुभयो।
सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सवारीमा भएको किटाणु निष्कृय पार्नका लागि टनेल निर्माण भएको बताउनुभयो। छिमेकी भारतबाट ठूलो संख्यामा मालबाहक सावरी भित्रिने भएपछि जोखिम रहेको भन्दै उहाँले डिसइनफेक्सन गरेर मात्रै उपत्यका प्रवेशको व्यवस्था मिलाईएको बताउनुभयो। यसले मावन स्वास्थ्यमा भने कुनै असर गर्नेछैन्।
महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले लकडाउनको प्रोटोकल अनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिन नदिने कुरामा विशेष ध्यान दिइएको बताउनुभयो।
टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ। टनेलबाट उपत्यका भित्रिने सबै सवारीलाई डिसइन्फेक्सनपछि मात्रै उपत्यका प्रवेश दिइने छ।









































