काठमाण्डौँ, 7 मे 2020
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिनुभएको छ। आजका लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलो पटक बैठक स्थगित भएको विषयमा औपचारिक प्रतिकृया दिनुभएको हो। अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताउनुभयो। अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताउनुभएको छ। उहाँले प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलसकिएपछि 2 दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताउनुभयो। संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अलि गृहकार्य नपुगेकै हो। दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ।’
स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ। अध्यक्ष प्रचण्डले आज नै संसद सभाहलको अनुगमन पनि गर्नुभएको छ। अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताउनुभयो। ‘‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ। प्रधानमन्त्रीका लागि 2 वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाउनुभएको छ। सेनिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ। ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ।’’ आज संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ। संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो।









































