काठमाण्डौँ, 7 मे 2020
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासका लागि कोभिड–19 बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने बताउनुभएको छ। कोभिड-19 बाट आएको यो संकटलाई पूर्ननिर्माण र नव निर्माणको अवसरका रुपमा परिणत गरी अर्थतन्त्रलाई नयाँ मोडमा लैजानुपर्ने भट्टराईले बताउनुभयो। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले निजी क्षेत्र र सरकारको सामुहिक सहकार्यबाट नै समस्याको समाधान सम्भव रहेको बताउनुभयो। एक अर्कालाई माग तेस्र्याउनु भन्दा पनि सबैले देशको स्रोत साधनको उपलब्धताको अवस्था र निरपेक्ष विकासको अवस्था हेरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो। कोरोनापछि विश्वको अर्थतन्त्र जसरी पूर्नसंरचना हुन्छ त्यही ढंगले राष्ट्रिय रणनीति बनाएर निजी क्षेत्र र राज्यले सहकार्य गर्न सकेमात्रै लाभ लिन सकिने उहाँले बताउनुभयो।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बढी जोखिममा रहेका र कम जोखिममा रहेका व्यवसायीहरुको सूची बनाएर समितिमा दिन आग्रह गर्नुभयो। निष्पक्ष ढंगले जोखिमका क्षेत्रहरु सूचीकरण भए सरकारलाई त्यही आधारमा प्राथमिकता बनाएर राहत दिन आग्रह गर्न सकिने उहाँले बताउनुभयो।
पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विदेशबाट लाखौ नेपाली स्वदेश फर्किदा बेरोजगारी बढ्ने र रेमिट्यान्स घट्ने भएकाले स्वदेशमै आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने विषयमा सोच्ने बेला भएको बताउनुभयो। नेपालमा उत्पादन गर्न सकिने अवस्था भएपनि अहिले वर्षमा 23 अर्बको चामल, 15 अर्ब बढीको तरकारी र 11 अर्बको फलफुल बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। विदेशबाट अर्बौ रुपैयाँका उपभोग्य सामान आयात गर्नुको सट्टा आत्मनिर्भर हुनेतर्फ ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो।
बैठकमा उद्योगी व्यवसायीहरुले सबैभन्दा बढी समस्या पर्यटन क्षेत्रमा परेको बताएका छन्। यस्तै अन्य उत्पादन मुलक उद्योगहरु पनि सञ्चालन हुन नसक्दा समस्या भएको उनिहरुले बताए। सरकारले छिट्टै रहतको प्याकेज नदिए उद्योग पुन सञ्चालन गर्ने अवस्था नहुने र लाखौंको संख्यामा रहेका श्रमिकहरु बेरोजगार बन्ने उद्योगी व्यवसायीहरुले बताएका छन्। छलफलमा उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ, घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो।









































