काठमाण्डौँ, 8 मे 2020
थप एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित भएका व्यक्ति 16 वर्षीय पुरुष रहेका छन्। अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन्। यस्तै कोशी अस्पतालमा उपचार भइरहेका ८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको उहाँले बताउनुभयो। यससँगै कुल डिस्चार्ज हुने बिरामीको संख्या ३० पुगेको छ। अहिले रुपन्देहीमा ३ जना, नेपालगंजमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगंजमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको प्रवक्ता देवकोटाले बताउनुभयो। प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।
अहिलेसम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टिनमा रहेका छन्। यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, बागमती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३ जना क्वारेन्टिनमा रेका छन्। यस्तै आइसोलेसनमा १ सय ३५ जना रहेका छन्। यसमध्ये ३ जना काठमाडौं उपत्यकामा रहेका छन भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन्।
अहिले सम्म कुल पीसीआर प्रविधिबाट गरिएको परीक्षणको संख्या १५ हजार ४ सय ९२ पुगेको छ। यस्तै आरडिटी विधिबाट गरिएको परिक्षणको संख्या ५४ हजार ५ सय ३१ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ आरडीटी परीक्षण गरिएको छ। प्रदेश १ मा ६ हजार ८ सय ४९ परीक्षण भएको छ भने प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४, र सूदुरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ परीक्षण भएको छ।
स्वीस सरकारले बिहीबार सरकारलाई ३० हजार थान पीसीआर टेस्टिङ किट उपलब्ध गराएको छ। किट उपलब्ध भएपछि पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि तिब्रता दिइने प्रवक्ता देवकोटाले बताउनुभयो। त्यसका लागि सकरारले शुक्रबार नै सबै प्रयोगशालामा किट पठाइसकेको उहाँले बताउनुभयो।









































