काठमाण्डौ, 13 मई 2020
लकडाउनका कारण बन्द रहेका उद्योगहरु अहिले आंशिक रुपमा सञ्चालनमा आउन थालेका छन्। काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्र भित्र रहेका अधिकांश उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएका छन्। सबै कामदार उपस्थित हुन नसक्ने र कच्चा पदार्थको अभाव भएका कारण अझै पनि उद्योग सञ्चालन गर्न समस्या रहेको उद्योगीहरुले बताएका छन्। लकडाउनका कारण सबै उद्योग बन्द हुँदा अर्थतन्त्रमा असर परेको भन्दै सरकारले गत वैशाख 28 गतेदेखि 42 प्रकारका उद्योगहरुले एक तिहाई श्रमिक राखेर सञ्चालन गर्न सक्ने निर्णय गरेको थियो। त्यससँगै सरकारले श्रमिक तथा कर्मचारीहरुको आवागमनलाई सहज बनाउन उपत्यका भित्र टाइमकार्ड समेत लागू गऱ्यो। तरपनि टाढाबाट आउनु पर्ने र उपत्यका बाहिर रहेका श्रमिकहरु उपस्थित नहुँदा उद्योगहरु पूर्ण सञ्चालनमा आउन सकेका छैनन्। यस्तै उद्योग सञ्चालनका लागि कच्चा पदार्थको अभाव, उत्पादित वस्तुको वितरण एवम् ढुवानीमा समस्या आउने गरेको उद्योगीहरुले बताएका छन्। तरपनि उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा 81 वटा र पाटन औद्योगिक क्षेत्रमा 95 वटा उद्योग सञ्चालनमा आएका छन्। उद्योग सञ्चालन गरिए पनि कर्मचारीहरु आउन नसक्दा पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको बालाजु औद्योगिक क्षेत्रमा रहेको पोलिथिन एण्ड प्लाष्टिक उद्योग प्रालिका प्रबन्ध निर्देशक प्रमोद घिमिरेले बताउनुभयो। उहाँले लकडाउनमा काम नभएपछि आफ्नो घर गएका श्रमिकहरु आउन नसकेको बताउनुभयो।
विस्कुट उत्पादन गर्ने कम्पनी नेबिको प्राइभेट लिमिटेडका महाप्रबन्धक केशब भट्टराइले लकडाउन सुरु भएको एक महिना पछि नै आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताउनुभयो। उहाँले उद्योगको नजिक रहेका श्रमिकहरुलाई बोलाई काम सुरु गरिएको बताउनुभयो। अहिले पनि सबै श्रमिकहरु काममा फर्कन नसक्दा पूर्ण रुपमा उद्योग सञ्चालन गर्न नसकिएको भट्टराईले बताउनुभयो। उहाँले दैनिक रुपमा श्रमिकहरुको स्वास्थ्य परीक्षण गरी काममा लगाइएको बताउनुभयो।
निजी क्षेत्रका उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेपनि सरकारी लगानीको दुग्ध विकास संस्थानको ‘काठमाडौं दुग्ध वितरण आयोजना’ भने पूर्ण रुपमा सञ्चालनमा आएको छ। आयोजना प्रमुख तिर्थकुमार महर्जनले लकडाउनमा पनि दुध उत्पादनमा कुनै कमि नआएको बताउनुभएको छ। उद्योगमा काम गर्ने प्राविधिक जनशक्तिको अभाव हुन नदिएको र प्रशासनिक क्षेत्रमा पालैपालो गरी कर्मचारीहरु आउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। अहिले पनि दैनिक 75/76 हजार प्याकेट दुध उत्पादन भइराखेको प्रबन्धक महर्जनले बताउनुभयो।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कायम मुकायम क्षेत्र व्यवस्थापक भोजराज विनाडीले औद्योगिक क्षेत्र भित्र सञ्चालनमा रहेका उद्योगहरुको नियमित अनुगमन गर्ने गरिएको बताउनुभयो। उहाँले औद्योगिक क्षेत्र भित्र सञ्चालित उद्योगहरुमा कोरोना भाइरस संक्रमणको सावधानी अपनाइएको बताउनुभयो। उहाँले अहिले सम्म 81 वटा उद्योगहरु आंशिक रुपमा सञ्चालन गरिएको बताउनुभयो। अहिले उद्योगहरुमा सबै श्रमिक आउन सक्ने अवस्था पनि नरहेको र कच्चा पदार्थको समेत अभाव भएकाले पूर्ण रुपमा सञ्चालन गर्न समस्या रहेको बताउनुभयो। उद्योगमा उत्पादन भएका वस्तुहरुको वितरण तथा ढुवानीका लागि टाइम कार्डका कारण समस्या भएको उहाँले बताउनुभयो।
पाटन औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका केही उद्योगरुले भने श्रमिकहरुलाई उद्योगमै बस्ने व्यवस्था मिलाई उद्योग सञ्चालन गरेको पाइएको छ। पूर्ण वुड कभरिङ इन्ड्रस्टिजका सञ्चालक किरण स्थापितले श्रमिकहरुलाई उद्योग मै खाने र बस्ने व्यवस्था मिलाएर आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताउनुभयो। सबै श्रमिकहरु उद्योग सम्म आउन कठिन भएकाले उद्योगलाई पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो।
पाटन औद्योगिक क्षेत्रका प्रशासनिक अधिकृत प्रदीप पराजुलीले लकडाउन कायम हुँदा पनि पाटन औद्योगिक क्षेत्र भित्र सात वटा उद्योगहरु सञ्चालनमा आइरहेको बताउनु भयो। उहाँले सरकारले उद्योगहरु सञ्चालन गर्न दिने भनेपछि आइतबार देखि करिब 95 वटा उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएको बताउनुभयो। उहाँले सबै उद्योगहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिई सामाजिक दुरी कायम राख्ने र स्वास्थ्य सावधानिका उपायहरु अपनाएर काम गर्न आग्रह गरिएको र सोही अनुसार नै उद्योगहरु सञ्चालन भइराखेको बताउनुभयो।
सरकारले एक तिहाई कर्मचारी राखेर उद्योग सञ्चालन गर्न भनेपनि अझै केही उद्योगहरु सञ्चालनमा आउन भने सकेका छैनन्। बालाजु औद्योगिक क्षेत्रमा भित्र 1 सय 31 उद्योगहरु छन् भने पाटन औद्योगिक क्षेत्रमा 1 सय 21 उद्योगहरु रहेका छन्।









































