काठमाण्डौँ, 14 मई 2020
काठमाडौँ उपत्यकामा दश हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्य अनुसार नमुना संकलन थालिएको छ। देशभरी कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा 10 हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ। उपत्यकामा राहत वितरण गर्ने स्वयसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिनेछ। सोही अनुसार बिहीबार कालीमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमुना संकलन गरेको छ। कालिमाटीमा 6 सय जनाको कोरोना परीक्षण गर्न नमुना संकलन गरिएको हो। काठमाडौँ महानगरपालिकाका वडा नम्बर 13 का वडाध्यक्ष ध्रुव नारायण मानन्धरका अनुसार 2 सय जनाको पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको र 4 सय जनाको आरडिटी परीक्षणका लागि नमुना संकलन गरिएको छ। होलसेल बजारलाई लक्षित गरी थोक विक्रेता बढी व्यक्तिहरुको सम्पर्कमा रहनेहरुको पिसिआर र सवारी चालक तथा तरकारी ओसार्ने व्यक्तिहरुको आरडिटी परीक्षण गरिएको उहाँले बताउनुभयो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा 10 हजारको नमुना परीक्षण गरिने बताउनुभयो। पहिलो विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरुको परीक्षण गरिने उहाँले बताउनुभयो। बिहीबार कालीमाटि बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकहरुको पनि नमुना संकलन गरिएको उहाँले बताउनुभयो।
चार दिन भित्र 10 हजारको नमुना परीक्षण गरिसक्ने तयारी सरकारले गरेको छ। पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणका कार्यक्रम सुरु हुनेछन्।









































