काठमाण्डौँ, 21 मई 2020
कोरोना भाइरस (कोभिड-19) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको 59 दिन पुगेको छ। गत चैत 11 गतेबाट जारी गरिएको लकडाउन पटक-पटक समय थप गर्दै जेठ 20 गतेसम्म पुऱ्याइएको छ। लकडाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन्। पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ। अहिले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागु गरिएको छ। उपत्यकामा संक्रमण देखिन थालेपछि भित्रि गल्लिहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन्।
यद्यपी धेरै ठाउँमा खाद्यन्न र तरकारी पसलहरु भने सञ्चालनमा रहेका छन्। प्रहरीले अनावश्यक रुपमा हिडडुल गर्नेलाई कारवाही गर्ने गरेको छ। केही दिनअघि अत्यावश्यक सेवा र बैंकिङ क्षेत्रहरु र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो।









































