काठमाण्डौ, 26 मई 2020
सांसदहरुले रुकुम चौरजहारीको घटनामा पुर्व गृहमन्त्री जनार्दन शर्मानै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीतिकरण हुन सक्दैन भन्ने अभिव्यक्ति दिएपछि सांसदहरुले आपत्ति जनाउदै सांसद शर्माले घटनाका दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाएका हुन् । सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्षी दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि केही समय सांसद शर्मा र अरु सांसदहरुबीच भनाभन नै चल्यो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह् गरिरहनुभयो । तर केही समय दुवै तर्फबाट भनाभन चलिरह्यो । आरोप प्रत्यारोप चलिरह्यो । विपक्षी सांसद लगायत दलित सांसदरुले शर्मालाई बोल्न रोकेपछि आक्रोशित हुदै उहाँले भन्नुभयो “सभामुखले दिएको समयमा बोल्दै गर्दा आपत्ती गर्नु कुन नियमावलिमा छ सभामुख महोदय ? म बोल्न नपाउनु ? मेरो बोल्न पाउने अधिकारको हनन नगरियोस् । म त्यहाँको जनप्रतिनिधि हुँ । त्यहाँको दलितको अधिकारको कुरा पनि मैले राख्न पाउनुपर्छ । बोल्दा बोल्दै आपत्ती गरेको कुरामा मेरो पनि आपत्ती छ ।’’
सांसद शर्माले छुवाछुत सम्बन्धी घटनाहरुमा राजनीतिकरण हुन नसक्ने भन्दै रुकुम चौरजहारी घटनाको सत्य तथ्य छानविनका लागि जाजरकोट र रुकुम जिल्ला प्रशासन लागिपरेको बताएपछि गृहमन्त्रीले दिने जस्तो जवाफ दिएको भन्दै कांग्रेसका सांसदहरुले आपत्ती जनाएका थिए ।
सांसद शर्मा पनि बोलेका नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पुर्व गृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्नलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।
यसअघि मंगलबारको बैठकको सुरुमै बोलेका सांसद सांसद मिन बहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरिय संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभएको थियो । सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्याननाकर्षण गराउनुभएको थियो । उहाँले मुलुकलकै इतिहासमा त्रासदीपुर्ण र कहालीलाग्दो जातिय दुर्घटना भएको भन्दै छुवाछुत मुक्त राष्ट्र घोषणा गरी वेपत्ताको छानविन गरी मृतकका परिवारलाई राहतको व्यवस्थागर्न माग गर्नुभयो ।
सांसद पार्वति कुमारी विशुन्केले कानुन बनेर व्यवस्था परिर्वतन भएपनि जातिय विभेदको वर्वरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रेमलाई बैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सपना बोकेर प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विक सहित ३ जनाले ज्यान गुमाएको तथा अन्य ३ जना अझै वेपत्ता भएको भन्दै जातका कारणले मारिने क्रम कहिले सम्म हो भनी प्रश्न गर्नुभयो । उहाँले “अन्र्तरजातिय विवाहका कारण कतिले मारिनुपर्ने सभामुख महोदय” भनी उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “अन्र्तरजातिय प्रेम गर्नुको सँजाय भनेको मारिनु हो ? सभामुख महोदय ? ” उहाँले घटनाको सत्य तथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।
सांसद रेणु कुमारी गुरुङले घटनाको निष्पक्ष छाननविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।









































