नयाँ दिल्ली, 30 मई 2020
भारतमा कोरोना भाईरसको संक्रमण लगातार बढ्ने क्रममा रहेपनि लकडाउनलाई भने चरणबद्ध रुपमा खुल्ला गर्ने भएको छ । गृह मन्त्रालयले सोमबारबाट तीन चरणमा लकडाउन खोल्ने निर्णय गरेको छ।
अनलक नाम दिएर लकडाउन खुकुलो गर्दै लैजाने योजना सरकारले सुनाएको छ । 1 देखि 30 जुनसम्म (अनलक 1)भनेको छ । यसमा रातको कफर्यु कायमै रहनेछ । कफर्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।
पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु खुल्नेछन् । मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु खोल्ने अनुमति दिइनेछ ।
दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ । कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।
तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो पटक राज्यका मुख्यमन्त्रीहरुसित भिडियो कन्फ्रेन्सिङका माध्यमले बैठक गरेपछी लकडाउन खुकुलो गरि लैजानुपर्ने कयौं मुख्यमन्त्रीहरुले सुझाव दिएका थिए भने उनिहरुले आ-आफ्नो राज्यमा कलडाउनलाई खुकुलो बनाएका थिए । भारतको राजधानी दिल्लीमा पनि 17 मईपछि लकडाउन खुकुलो भइसकेको थियो ।









































