बाँके, 1 जुन 2020
बाँकेको राप्ती सोनारीमा भएको मिनिबस दुर्घटनामा 12 जनाको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन् । बाँकेको राप्तीसोनारी- २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना भएको हो । दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । भारतबाट आएका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को मिनिबस आइतबार राति राप्ती सोनारी-२ मा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको पनि उहाँले जानकारी दिनुभयो । १२ जनाकै शव भेरी अस्पतालमा राखिएको र परिचय संकलन गर्ने काम भइरहेको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिनुभयो । घाइतेको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।









































