लालमाटी (खरसाङ) सुवास छेत्री: सोमबार 8 जून 2020
खरसाङ खण्डको अत्यन्तै दुर्गम गाउँ लालमाटीदेखि बुङकुलुङ निस्कनको निम्ति यहाँका मानिसहरूले बालासन खोला तरेर जान पर्छ । यसको निम्ति त्यहाँ खोलामाथि कुनै पक्की पुल छैन् । विशेषगरी बर्खाको समयमा स्थानीय मानिसहरूलाई यहाँबाट हिँडडुल गर्न धेरै असुविधा हुन्छ । यही बाटो भएर स्थानीय मानिसहरू मिरिक तथा वरिपरीका क्षेत्रहरूमा पनि जान्छन् । तर खोलामाथि पक्की पुल नभएको कारण विशेषगरी बर्खाको समय मानिसहरूलाई निक्कै असुविधा हुने गर्छ ।
यसैलाई मध्यनजर राखेर अनि गत केही दिनअघि दार्जीलिङका विधायक निरज जिम्बाले यस क्षेत्रको भ्रमणमा आएको समय जीटीए अध्यक्षलाई यस पूल निर्माण गरिदिने आग्रह गरेको फलस्वरूप आइतबार जीटीए अध्यक्ष अनित थापा यहाँ आएर उक्त ठाउँको निरीक्षण गर्दै यहाँ पूल निर्माण गरिदिने वचन दिएर गएका छन् । केवल मुखले बोल्ने मात्र होइन तर व्यवहारिक रूपमा त्यसलाई कार्यरूपमा परिणत गर्ने महत उद्देश्य र विचार लिएर प्रायः दुई किलोमिटर जंगलको अपठ्यारो बाटो हिँडेर जीटीए अध्यक्ष थापा यहाँ आएर क्षेत्रको परिभ्रमण गरे अनि बाँसद्वारा बनाइएको अस्थायी पूललाई हेरेर यहाँ पुल निर्माण गर्नु नै पर्ने विचार व्यक्त गर्दै जीटीएको तर्फबाट यहाँ पूल निर्माण गरिदिने वचन दिए । अध्यक्ष थापाले गत केहीदिन अघि दार्जीलिङ का विधायक निरज जिम्बा यस क्षेत्रको परिभ्रमण गर्दा तिनले यहाँको अवस्थालाई देखाएर जीटीए मार्फत पुल निर्माण गरिदिने गरेको आग्रहलाई ध्यानमा राखेर आज यहाँ आएको बताउँदै अवश्यनै पूल निर्माण गरिदिने वचन दिए । जीटीए अध्यक्ष भए तापनि आफूलाई सबै कुरो थाहा नहुने बताउँदै तर एकजना जनप्रतिनिधि भएको नाताले विधायक जिम्बाले यसरी दुर्गम क्षेत्रहरूको समस्यालाई देखाइदिएकोमा तिनीप्रति कृतज्ञता प्रकट गर्दै जिम्बाले एकजना साँचो जनप्रतिनिधिको काम गरेको बताए । थापाले अघि भने-“पहाड़मा हामीले राजनीतिदेखि माथि उठेर काम गर्नुपर्छ । राजनीति स्वार्थलाई भुलेर पहाड़को हितको निम्ति काम गर्नुपर्छ । मलाई अहिले कुर्सीमा राखेको मैले सबैको निम्ति काम गर्नुपर्छ । तिनले निजी स्वार्थलाई भुलेर आज विधायक जिम्बाको सुझाव अनुसार नै यहाँ आएको पनि उल्लेख गरे।









































