काठमाण्डौ, 9 जुन 2020
नेपालमा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमणको भेटिदा संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९२ पुरुष र ३० महिला छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज इलाम जिल्लामा समेत कोरोना संक्रमित देखिएसँगै मुलुकभर ७२ जिल्लामा संक्रमण फैलिएको छ । यस्तै, हालसम्म १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ३ हजार ४ सय ८७ जना छन् । यस्तै, आज ९६ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर १ लाख ६ हजार ३ सय ३१ जनाको पीसीआर र आरडीटीबाट १ लाख ६६ हजार जनाको परीक्षण भएको छ ।









































