काठमाण्डौ, 9 जुन 2020
गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ । मंगलबार संघीय संसद प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफदिँदै गृहमन्त्री थापाले संघीयता कार्यान्वयन तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी समायोजनको कार्य अन्तिम चरणमा रहेको बताउनुभएको हो । गृहमन्त्री थापाले सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ५०० स्थानमा स्थापना गरिने लक्ष्य रहेकोमा यस अन्तर्गत प्रथम चरणमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना कार्य अगाडि बढेको भन्नुभयो । आजका मितिसम्म दार्चुलाको छाङ्गरु र हुम्लाको हिल्सा समेत गरी १२९ स्थानमा बोर्डर आउट पोष्टको स्थापना भईसकेको उहाँले जानकारी दिनुभयो।
उहाँले लागु औषध दुव्र्यसन नियन्त्रण गर्नका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको र यसका लागि नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजनाका रुपमा लागु औषध नियन्त्रण कार्यक्रम कार्यान्वयन गरी लागु पदार्थको आपूर्ति नियन्त्रण तथा यसको दुव्र्यसन घटाउने, सचेतता अभिवृद्धि मार्फत समुदायलाई नै यसको नियन्त्रणमा अग्रसर बनाउन बजेटमा व्यवस्था गरिएको बताउनुभयो । त्यसैगरि विपद् व्यवस्थापनको प्रभावकारी सञ्चालन, व्यवस्थापन, समन्वय तथा सहजीकरण गर्नका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भई कार्य प्रारम्भ भएको उहाँले बताउनुभयो । उहाँले सीमा सुरक्षाका सम्बन्धमा नेपाल र छिमेकी मुलुकका अधिकारीहरुबीच विभिन्न समयमा नियमितरुपमा समन्वय तथा संयुक्त बैठक बसी सीमा व्यवस्थापन गरिँदै आइएको बताउनुभयो । सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ५०० स्थानमा स्थापना गरिने लक्ष्य रहेको भन्दै यस अन्तर्गत प्रथम चरणमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना कार्य अगाडी बढिरहेको गृहमन्त्री थापाको भनाई छ। समाजमा हुने हत्या, हिंसा, चोरी, डकैती, अपहरण, गुण्डागर्दी, बलात्कार, महिला हिंसा जस्ता अपराधिक कार्यप्रति शून्य सहिष्णुताको नीति अबलम्बन गरी दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न गृह प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो ।









































