काठमाण्डौं, 18 जुन 2020
प्रधानमन्त्री केपी ओलीले आगामी फागुन सम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताउनुभएको छ । राष्ट्रियसभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले फागुन सम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताउनुभएको हो । उहाँले श्रावण महिनाको अन्त्य तिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि आरोलो लाग्ने बताउनुभयो । उहाँले दशै तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसिर महिना पछि फेरी संक्रमणको दर बढ्ने भएकाले पुर्ण नियन्त्रणमा आउन फागुन सम्म लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “श्रावणको अन्त्य सम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौ । अथवा भदौको सुरु तिर । यो त्यसपछि आरालो लाग्छ । र हामी यसलाई क्रमश नियन्त्रण गर्न सक्छौ । अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्यो । दशै तिहार र छठ जस्ता चाडले फेरी संक्रमण बढाउछन् भन्ने पनि अवस्था छ । त्यसकारण यो खतराबाट हामी कति जोगिन सक्छौ ? भोली यो खतराले फेरी हाम्रो ग्राफ बढाईदियो भने मंसिरमा फेरी अलिकति मास्तिर जान सक्छ । र मंसिरको अन्त्य तिरबाट हामीले फेरी त्यस ग्राफलाई तल लान सक्छौ । र पुस माघ सम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौ । फागुनको महिना संभवत नियन्त्रणको महिना हुन्छ । ”
कोरोनाको आतंकले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाले आतंकित नभई सर्तक हुन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले लकडाउनको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी गर्नुभयो ।
कोरोनाका कारण उत्पन्न विभिन्न परिस्थितिका कारण मान्छेहरु डिप्रेशनमा गएको बताएका प्रधानमन्त्रीले नेपालीहरुमा रोग प्रतिरोधी क्षमता बढी भएको भन्दै उपचार पद्धतिको साथै केही टिप्स पनि दिनुभयो ।
उहाँले भन्नुभयो “कोरोनाले छोयो भन्ने वित्तिकै मर्छु । अब गएँ म भन्ने हो भने त बाँच्छ भन्न गाहे हुन्छ । कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो । लागिहाल्यो भने हाछ्यु साछ्यु गर्नुपर्छ । तातोपानी खानुपर्छ । उडाईदिनुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ । त्यो भयो भने कारोनाले लान सक्क्तैन लागिहाल्यो भने पनि । ”
उहाँले उपचार विधि र प्रतिरोध क्षमता आदिको कारणले कोरोनाका कारण निधन हुनेको संख्या निकै कम भएको र संक्रमणको दर पनि अन्य देशको तुलनामा नेपालको स्थिति राम्रो रहेको बताउनुभयो । उहाँले नेपालमा प्रति १० लाखमा ० दशमलब ७ प्रतिशत संक्रमित रहकोे बताउनुभयो । उहाँले संक्रमितहरु बढ्दै गएको देखिए पनि समुदायमा संक्रमण कमी नै रहेको बताउनुभयो । उहाँले नेपालमा बाहिरबाट आउनेको संख्या संगै संक्रमित भएर आउनेहरुको संख्या पनि ठूलो भएकाले एकै पटक उनीहरुको व्यवस्थापन गर्नु कम चुनौतिपुर्ण नभएको बताउनुभयो । उहाँले चैतदेखि भारतबाट नेपाल आउने नागरिकहरुको संख्या नै बढी भएकाले समस्या भएको बताउनुभयो । उहाँले ठूलो संख्यामा बाढी जसरी आएकाका लागि व्यवस्थित क्वारेन्टीन र तत्काल परीक्षण लगायतको व्यवस्था मिलाउनु चुनौतिपुर्ण कार्य रहेको बताउनुभयो ।









































