सोरेङ, २२ जुन (सरोज गुरुङ)
वन विभाग सोरेङ टेरोटियलको अगुवाइमा आज समष्टि स्तरीय बिरुवा वितरण कार्यक्रम सोरेङ-च्याखुङ समष्टि अन्तर्गत बरबोटे वन संरक्षित क्षेत्रमा सम्पन्न भयो। उक्त कार्यक्रममा सम्बन्धित समष्टिका विधायक आदित्य गोले विषेश रूपमा उपस्थिति थिए। यस अतिरिक्त डीएफओ (टी) तेञ्जिङ भोटिया, एसीएफद्वय बिन्ध्या सुब्बा र मिलन सुब्बा, आरओ विनोद छेत्री, संयुक्त वन प्रबन्धन समितिका प्रतिनिधिगण र वन विभागका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

विधायक गोलेले आजै आफ्ना समष्टिका लाभार्थीहरुलाई पाँच सयवटा गर्जो प्रजातिका बिरुवा वितरण गरेका छन्। पर्यावरण दिवसको उपलक्ष्यमा राज्यका राज्यपाल गंगा प्रसादले उक्त औषधीय गुणले युक्त गर्जो प्लान्टको हालै विधिवत लन्च गरेका थिए।

विधायक गोलेले हरित भारत अभियान अन्तर्गत सम्बन्धित समष्टिका चारवटा संयुक्त वन प्रबन्धन समितिलाई इन्डक्सन चुल्हा र बायोग्यास चुल्हा पनि प्रदान आज गरे। समष्टिका रहल ९ वटा जेएफएमसी-लाई पनि उक्त सहुलियत चाडै वितरण गरिने बताइएको छ।

पर्यावरण संरक्षण र सम्बर्द्धनको क्षेत्रमा सिक्किम एउटा अग्रणी राज्य हो। यहाँका नागरिकहरु विश्व पर्यावरण दिवसलाई जीवनको एउटा अङ्ग नै मान्छन्। अनि पर्यावरणप्रेमी पनि छन्। राज्यमा अरु समयमा पनि मान्छेले आफ्नो निजी जमीनतिर प्रसस्तै विरुवाहरु रोप्छन् अनि यो मौसममा प्रायःजसो सरकारी जमीन, सडक छेउछाउ, खासमल र सरकारी दफ्तर वारीपारीतिर व्यापक विरुवा रोप्ने कार्यक्रमको आयोजना भइरहेको छ। भन्नुपर्दा, सिक्किममा बिरुवा रोपन कार्यक्रम नागरिकमा एउटा कार्यसंस्कृतिको रूपमा स्थापित भइसकेको छ। यसको सकारात्मक असर पनि देखिएको छ।

दुनियाँका विकसित र विकासित मुलुकहरुमा तीव्र गतिले बन-जङ्गल मासिएर गइरहेको बेला सिक्किममा लगभग तीन प्रतिशत बन-जङ्गलमा बढोत्तरी हुनु भनेको सानोतिनो उपलब्धि होइन। आज बरबोटेमा पनि विभिन्न प्रजातिका विरुवा रोपिएको छ। धारावाहिक रूपमा बिरुवा रोपन कार्यक्रम निरन्तर सम्पन्न भइरहने यहाँका वन विभागका अधिकारीले जानकारी दिएको छ।









































