काठमाण्डौ, 14 जुलाई 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी भारत नभएर नेपाल भएको भन्ने अभिव्यक्ति दिएपछि नेपाल भारतमा विरोध भएको छ । खाशगरि प्रधानमन्त्री केपी शर्मा ओलीको बयानको विरोध गर्दै भारतीय मिडीयामा लगातार समाचार प्रसारित भइरहेका बेला नेपालको परराष्ट्र मन्त्रालयले यसबारे आधिकारिक धारणा बाहिर ल्याएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कोही–कसैमाथि चोट पुऱ्याउने नियतले नभएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्मजयन्ती समारोहका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तीलाई कयौं प्रकारले परिभाषित गरिएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस विषयमा परराष्ट्र मन्त्रालय निम्नलिखित रुपमा स्पष्ट गर्दछ-

1 प्रधानमन्त्रीले दिएको अभिव्यक्ती कुनै राजनीतिक विषयसँग सम्नबन्धित नभएको र कोही कसैको भावना र संवेदनामा चोट पुऱ्याउने नियतले आएको होइन ।
2 श्रीराम र उहाँसँग जोडिएका स्थानकाबारेमा विभिन्न किंवदन्ती रहिआएकोले प्रधानमन्त्रीले श्रीरामबारे तथ्य हासिल गर्नका लागि रामायणले प्रतिनिधित्व गर्ने बृहद सांस्कृतिक भूगोल, रामायण र समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे थप अध्ययन र अनुसन्धानको महत्वबारे प्रकाश पार्न खोज्नुभएको थियो ।
3 अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मूल्य कम गर्न लागि यस्तो अभिव्यक्ती आएको थिएन ।
विज्ञप्तिको अन्त्यमा, नेपालमा हरेक वर्ष विवाह पञ्चमी मनाउने परम्परा रहीआएको र विवाह पञ्चमीमा भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउँछन् । मई २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट शुभारम्भ गर्नुभएको छ, त्यसअन्तर्गत जनकपुर–अयोध्या यात्रुवहाक बस सेवा महत्वपूर्ण पक्ष हो । यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीचको प्रगाढता दर्शाउँछ, भनिएको छ ।









































