कैलाली, 29 जुलाई, हिम शाह
लगातारको वर्षाले कैलालीको धनगढी लगायतका स्थान डुबानमा परेका छन्।
अविरल वर्षाका कारण नदीहरु बस्तीमा पस्दा कयौं स्थान जलमग्न भएका छन । धनगढीका हसनपुर, शिवनगर, उत्तरबेहडी, क्याम्पसरोड लगायतका ठाउँ जलमग्न भएका छन्।
कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् ।
कैलालीको टिकापुर, भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ ।

कान्द्रा, काँडा र पथरैया नदीको बाढी कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्तीमा पस्दा डुबान भएको प्रहरीले जनाएको छ ।
टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती डुबानमा परेको छ ।
निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ ।

लगातारको वर्षाले टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ ।
टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरभित्र पानी पसेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काँडा नदी गाउँ परेपछि २५ घर डुबानमा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन्। काँडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घरमा डुबान भएको छ।
कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन्।
बाढी सूचना केन्द्रले कैलालीको टीकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा ‘अति भारी’ वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।









































