काठमाडौं, 29 जुलाई 2020
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराउनुभएको हो । राखेपको १९ औं सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताउनुभयो । नेपालको खेलकुद जगतलाई विश्वले हेर्नेगरी आकर्षित रुपमा अगाडी बढाउने उहाँले बताउनुभयो । खेलकुदलाई खेलकुदका रुपमा मात्रै सिमित नगरी यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने उहाँले बताउनुभयो। युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रीपरिषदको निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो । शपद लगत्तै पदाबहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुग्नुभएको थियो । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुँनेछ ।









































