नयाँ दिल्ली, 4 अगस्त
भारतको अयोध्यामा भोली हुने भूमि पुजन अर्थात शिलान्यासका लागि सम्पूर्ण तयारीहरु जारी छ । अयोध्यामा राम जन्मभूमि बाबरी मस्जीद विवाद गत वर्ष 9 नोभेम्बरमा भारतको सर्वोच्च अदालतबाट सुल्झिएपछि श्रीरामको भव्य मन्दिर निर्माणका लागि भोली शिलान्यास हुन लागेको हो । शिलान्यासका लागि हिजोदेखिनै अनुष्ठानहरु शुरु भइसकेका छन । अयोध्यामा अहिले शिलान्यास कुनै पर्व जस्तै मनाइदैछ । त्यहाँ काम किर्तन र रामचरितमानस शुरु भइसकेका छन ।
भोली हुने मुख्य समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुहुनेछ । उहाँसगै नेपालसहित विश्वका कयौं देशहरुबाट धार्मिक गुरु र सन्तहरु उपस्थित रहने अनुमान गरिएको छ ।
प्रधानमन्त्री मोदीले सबैभन्दा पहिला हनुमान गढ़ी मन्दिरमा दर्शन गरेपछि भगवान श्रीराम ललाको राम जन्म भूमिमा दर्शन गर्नुहुनेछ । त्यसपछि भूमि पूजन र अन्य कार्यक्रमहरु हुनेछन । प्रधानमन्त्री मोदीले भूमि पूजनमा मन्दिर निर्माणका लागि 40 किलो बराबर चाँदीका ईटाहरु आधारशिलाको रुपमा राख्नु हुनेछ ।
श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले भूमि पूजन समारोहमा 175 आमन्त्रित व्यक्तिहरु सहभागी हुने बताउनुभएको छ ।

यसैबिच भारत सरकारले प्रस्तावित राम मन्दिरको नक्सा जारी गरेको छ ।









































