कैलाली, 5 अगस्त 2020
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन। अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन। प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ मा साढे ८ करोड रकम विनियोजन भएको थियो। तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले मेसिन खरिदका लागी साढे ८ करोडको बजेट आएको भए पनि कार्यान्वयन गर्न नसकिएको बताउनुभयो। चालु आर्थिक वर्षमा ९ करोड बजेट विनियोजन भएको र अबको १० दिन भित्रै खरिद प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो। पटक पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनको लापरबाहीका कारण गत आर्थिक वर्षको बजेट फ्रिज गएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अस्पताल प्रशासन र व्यवस्थापन समितीको आन्तरिक किचलोका कारण बजेट फ्रिज गएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताउनुभयो। गत आर्थिक वर्षका लागी प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा मेसिन खरिद गर्न साढे ८ करोड रुपैयाँ विनियोजन गरेको थियो। यस्तै भवन निर्माणका लागी ६ करोड विनियोजन गरेको थियो। तर अस्पताल प्रशासनले भने आन्तरिक कारण देखाउँदै अहिलेसम्म मेसिन खरिद गर्न सकेको छैन। अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा सेवाग्राहीले दुःख पाएका छन । बिरामीहरू निजी क्षेत्र अस्पतालबाट सेवा लिंदै ८ हजार देखी १८ हजार सम्म तिर्न बाध्य छन।









































