काठमाडौं,11 अगस्त 2020
आज श्रीकृष्ण जन्माष्टमी अर्थात भगवान कृष्णको जन्मदिन। देशभर भगवान श्रीकृष्णको पूजा–आजा गरी श्रीकृष्ण जन्माष्टमी मनाइदैछ। द्धापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भाद्र कृष्ण अष्टमीको दिन (आज) भगवान श्री कृष्णको जन्म भएको थियो। त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ। संसारभरका हिन्दु धर्मावलम्बी र भगवान श्री कृष्णका भक्तहरुले आज जन्मदिवस मनाउँदैछन। नेपालमा पनि देशभरका कृष्ण मन्दिरहरुमा भक्तालुहरु पुगेर पूजा आजा गर्ने गर्दछन। ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि आजको दिन विशेष पूजा गर्ने गरिन्छ। तर कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर यसवर्ष पाटनस्थित कृष्ण मन्दिर बन्द गरिएको छ । मन्दिरका पूजारी महेशर्धम राजोपाध्यायले मन्दिर भित्र प्रवेश रोक लगाइएको र बाहिर बाटै मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो।
यसदिन महिलाहरु व्रत बसी भगवान श्रीकृष्णको आराधना गर्ने प्रचलन पनि रहेको छ। मन्दिरमा पूजा–आराधना गर्न पुगेका भक्तालुहरु भने पूजा गर्न नपाएकोमा दुखि भएको बताएका छन् । सधैं मेला लाग्ने मन्दिरमा यसवर्ष पूजा गर्न नपाउँदा नरमाइलो लागेको भक्तजनहरुले बताएका छन। कृष्ण जन्माष्टमीको दिन मुलुकभर रहेका श्रीकृष्ण मन्दिरहरुमा पूजा–आराधना, भजनकीर्तन र मेला लाग्ने भएपनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण चहलपहल छैन। गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर लगायतका धेरै नामबाट पुकारिएका भगवान श्रीकृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि लिने गरिन्छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचारबाट मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास पनि गरिन्छ।









































