काठमाडौं,19 अगस्त 2020
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोकाले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरुलाई निराश हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ। आज पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष डा. रोकाले कोभिड-१९ का कारण देश विदेशमा रोजगारी गुमाएका युवाहरुलाई निराश हुन नदिने प्रतिवद्धता जनाउनुभयो। कोरोनाका कारण कोषको दायित्व र भूमिकाहरु बढाएको उहाँको भनाई छ। विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमा रोजगारी गुमाउने युवाहरुको संख्या ठूलो रहेकाले कोषको भूमिका र दायित्व अझ बढेको उहाँले बताउनुभयो। सेवा र उद्योग क्षेत्रबाट रोजगारी कटौती हुँदै गरेको अवस्थामा स्वरोजगार कोषको भूमिका अझ बढेको उहाँले बताउनुभयो। कोभिडले थपेको चुनौतीकाबिच सम्भावनाहरु खोजेर काम गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो। अरु सरकारी कार्यालयहरु भन्दा दिन दुई गुणा र रात चार गुणा काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। सरकारले सोमबार डा. रोकालाई स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले रोकालाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो।









































