काठमाडौं, 26 अगस्त 2020
नेपाली काँग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दिर्घकालिन योजना तत्काल ल्याउन सरकारसँग माग गरेको छ ।काँग्रेसको कोरोना अनुगमन समितिले लक डाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालिन र दिर्घकालिन योजना ल्याउन माग गरेको हो। चार महिना लामो लक डाउनका कारण आर्थिक र सामाजिक जीवन कष्टकर बनेपनि फेरी निषेधाज्ञा गरी जनतालाई दुःख दिने काम सरकारले गरेको काँग्रेसको आरोप छ। बन्दका कारण जनताले दुःख पाएकोले अब संक्रमण न्यूनिकरण गर्दै बन्दको विकल्पमा तत्कालिन र दिर्घकालिन योजना सार्वजनिक गर्न सरकारसँग माग गरिएको काँग्रेसद्वारा गठित कोरोना अनुगमन समितिका संयोजक प्रकाशशरण महतले बताउनुभयो।

सरकारले अब बन्दको अवस्था पनि आउन नदिने र संक्रमण पनि बढ्न नदिने गरी योजना ल्याउनुपर्ने उहाँको भनाई छ। संक्रमणको दर बढिरहेको अवस्थामा नीजि क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो। नीजि अस्पतालहरुलाई २० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउन सरकारले भनेपनि त्यो व्यवहारिक नभएको उहाँको तर्क छ। त्यसको सट्टा आवश्यक अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा अगाडी बढाउने योजनाका साथ नीजि अस्पतालहरुसँग समन्वय गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।
स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मी लगायतमा संक्रमणको जोखिम बढेकाले उद्धार र उपचारको जिम्मा सरकारले लिनुपर्ने, स्वास्थ्यकर्मीका लागि विमा कार्यक्रम तत्काल लागु गर्नुपर्ने र कोभिड जोखिम भत्ताको यथासिघ्र व्यवस्था गर्नुपर्ने माग काँग्रेसको छ। अहिले अक्सिजन र भेन्टिलेटरको समेत अभाव रहेकाले सरकारले त्यसतर्फपनि ध्यान दिनुपर्ने महतले बताउनुभयो। विदेशमा अफ्ठ्यारोमा रहेका नागरिकहरुका लागि नियमित उडान खोल्नुपर्ने र शैक्षिक वर्ष खेर जान नदिने ग्यारेण्टीका साथ बैकल्पिक उपाय सुनिश्चित गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो।









































