काठमाडौं, 31 अगस्त 2020
पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन। भदौ तीन गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुखजिल्ला अधिकारी सहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालले बताउनुभयो। सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको उहाँले बताउनुभयो । सर्वसाधारणले निषेधाज्ञा पालना गरिरहेको उहाँले बताउनुभयो । जोखिम बढेसँगै नागरिकहरुमा सचेतना बढेको छ भने ट्राफिक प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । प्रशासनले स्वास्थ्य, सुरक्षा, सञ्चारमाध्यम, खाद्यान्न, तरकारी, फलफुल खानेपानी, दुध, इन्धन, ग्यास लगायतका सवारीलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको छ । सुरुमा एक साताका लागि निषेधाज्ञा जारी भएपनि संक्रमण बढ्ने क्रम नरोकिएपछि थप एक साता निषेधाज्ञा थप भएको छ ।









































