काठमाडौं, 31 अगस्त 2020
काठमाडौं उपत्यकामै सबैभन्दा बढी जान हुने कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ। सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। दक्षिण तिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो। २ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बिचका ४ लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो । सबैभन्दा बढी जाम हुने क्षेत्रमा विस्तारपछि यातायात सहज हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले बताउनुभयो। पूर्ण रुपमा जाम नियन्त्रण गर्न नसकिएपनि २५/३० प्रतिशत जाम कम गर्न सकिने उहाँले बताउनुभयो। सडक विभाग अन्तरगत काठमाडौं डिभिजनबाट सडक विस्तारको काम सुरु भएको हो । ४/६ महिनाभित्र सम्पन्न हुने गरी काम सुरु भएको उल्लेख गर्दै उहाँले जडिबुटी क्षेत्र आसपासमा रहेका नीजि क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने बताउनुभयो ।
सार्वजनिक यातायातमा जिपिएस जडान र इ-टिकेटिङ सिस्टम लागु गर्ने गरी नीति तर्जुमा भइरहेको उहाँले बताउनुभयो। सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले सतप्रतिशत जाम कम गर्न नसकिएपनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि हुने दावी गर्नुभयो । भक्तपुर पेप्सीकोलाबाट बालकुमारी तर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था नहुने उहाँले बताउनुभयो । सडक विस्तारको काम सुरु भइसकेको छ । परिस्थिति सहज भए कम्तिमा ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो । करिब १२ करोड लागतमा सडक विस्तार हुनेछ । यो साता नै टेण्डर खुला गरिने डिभिजन कार्यालयले जनाएको छ । उत्तरतर्फ लेन विस्तारका लागि विमानस्थलको जग्गा प्रयोग गरिएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणका लागि कार्ययोजना बनिरहेपनि तत्कालको समस्या समाधानका लागि लेन विस्तारको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।









































