नयाँ दिल्ली, 31 अगस्त
कोरोना महामारीका कारण अहिले अस्पतालहरुमा अन्य रोगको उपचार सम्भव छैन । अस्पतालहरुमा कोरोना रोगीहरुलाई प्राथमिकतामा राखिएका कारण अन्य रोगका विरामीहरुलाई विभिन्न दिशानिर्देश पालना गराएर मात्रै उपचार सेवा उपलब्ध भइरहेका छन । त्यसैले अधिकांश मानिसहरु स्वास्थ्य सेवाबाट बञ्चित भएका छन । भारतमा रहेका नेपालीहरुले पनि स्वास्थ्य सेवा लिन नपाउँदा मर्कामा परेका छन । यस्तै एक गर्भवती नेपाली महिलालाई कोरोना गाइडलाइन्सका कारण कुनै पनि अस्पतालले प्रसुती गराउन नमानेपछि महिला र बच्चाको ज्यानकै जोखिम भएपछि अन्ततः नेपालीहरुको सहयोगमा डिलीवरी गराइएको छ । दिल्ली नजिक उत्तर प्रदेशको गाजियाबादमा चौकीदारी काम गर्ने बिरु गिरीकी श्रीमती जला गिरीलाई कुनै पनि अस्पतालले डिलीवरि गराउन नमानेपछि बाजुरा दिल्ली सम्पर्क समितिका उपाध्यक्ष गोरख विष्टको पहलमा चिकित्सकको टोली घरमै आएर डिलीवरी गराएको हो ।

तस्वीरमा: गोरख विष्ट
कुनै पनि अस्पतालले डिलीवरी गराउन नमानेपछि महिलाको प्रसव पीडा बढ्दै जाँदा उनलाई ज्यानकै जोखिम बढेको थियो । गर्भवती महिलाका पति बिरु गिरीलाई के गर्ने के नगर्ने भन्ने जानकारी पनि नहुँदा समस्या बढेपछि गोरख विष्ट समयमै अगाडी आएर चिकित्सकको टोलीलाई घरमै बोलाउने व्यवस्था गरिदिएपछि महिला र बच्चाको ज्यान बचेको हो ।
सुदुरपश्चिम प्रदेश बाजुरा बुढिगंगा नगरपालिका वडा न. 5 बार्हविसेका स्थायी वासिन्दा बिरु गिरी र उनकी श्रीमती जला गिरी 4 वर्षदेखि गाजियाबादको शालीमार गार्डनमा रहँदै आएका छन ।









































