काठमाडौं , 18 सेप्टेम्बर 2020
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरित केन्द्रिकृत प्रणालीमा अगाडी बढिरहेको आरोप लगाउनुभएको छ। सर्वोच्च कमाण्डर गणेशमानसिंहको स्मृति दिवसमा आयोजित कार्यक्रमको अवशरमा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रिकृत प्रणालीलाई स्थापित गर्न अगाडी बढिरहेको आरोप लगाउनुभएको हो। संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया केन्द्रिकृत प्रणालीमा जाने गरी अगाडी बढिरहेको उहाँले बताउनुभयो । संविधान दिवसका पूर्व सन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरु भएपनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पुर्याइरहेको बताउनुभयो । जनताहरु कोरोना महामारीको चपेटामा रहेपनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उहाँले बताउनुभयो ।

महामारीका बेला गर्नुपर्ने न्यूनतम काम समेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उहाँले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताउनुभयो । २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसकै अवशरमा नेता प्रकाशमान सिहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गर्नुभएको छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।









































